ऊर्जा दक्षता तालिमको समापन ।

ऊर्जा दक्षता तालिमको समापन ।
बुटवल, ३१ वैशाख
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादन मूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि ८दिने (४८ घण्टे) निःशुल्क ऊर्जा दक्षता तालिमको बुटवलमा समापन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उत्पादकत्व अभिवृद्धि गर्दै स्वरोजगार युवाहरू तयार गर्ने उद्देश्यले उद्योग व्यवसाय क्षेत्रमा निरन्तर विभिन्न तालिमहरूको आयोजना गरेको बताउनु हुँदै आवश्यकताका आधारमा तालिमको पहिचान गर्दै सम्बन्धित विषयमा तालिमहरु आयोजना गरिएको र यस तालिमले ऊर्जा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै दिगो विकासमा टेवा पुर्याउने अपेक्षा लिएको बताउनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनु भएका ई. मोहम्मद अबुलहसन खाँले तालिम अवधिमा ऊर्जा दक्षता सम्बन्धी महत्वपूर्ण अवधारणा ,व्यवहारिक उपाय ,दक्ष प्रविधि र ऊर्जा व्यवस्थापनको विविध पक्ष बारे छलफल र अभ्यासमा प्रशिक्षार्थीहरूले देखाएको चासो जिज्ञासा र सहभागिता प्रेरणादायी रहेको बताउनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्नुहुँदै यादव ब्याट्री सर्भिस प्रा.लीका सञ्चालक सुमन पोख्रेलले तालिमबाट सिकेका प्राविधिक ज्ञान र व्यवहारिक उपायहरु भविष्यमा कार्यान्वयन गरेर नाफा बढाउन र वातावरण जोगाउन सहयोग पुर्याउने बताउनु हुँदै दक्षतासँग सम्बन्धित तालिमको निरन्तरताका लागि अनुरोध गर्नुभयो ।
त्यसैगरी अर्का प्रशिक्षार्थी वायोगेन रेमिडीज प्रालीका विष्णुभक्त आचार्यले ८ दिनमा धेरै कुरा सिक्न पाएको र सिकेको ज्ञानलाई आजैबाट ब्यवहारमा उतारी उद्योगलाई दीर्घकालीन रुपमा सफल बनाउन लागि पर्ने वताउनु भयो ।
रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा १६ उद्योगबाट सहभागी १८जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको संयोजन सीप विकास इकाई काकार्यक्रम संयोजक खिमानन्द रिजाल र सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो ।