उद्योगका सुपर भाइजर र शिक्षालयका प्रशिक्षकहरुलाई ५ दिवसीय तालिमको समापन

उद्योगका सुपर भाइजर र शिक्षालयका प्रशिक्षकहरुलाई ५ दिवसीय तालिमको समापन
बुटवल २०८१ असार, १४
रुपन्देही उद्योग संघ–सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर) दोश्रो–चरण)को सहयोगमा संचालित सिप विकास इकाई र प्राविधिक प्रशिक्षण प्रतिष्ठान TITI को आयोजना, दिगो तथा प्राविधिक शिक्षालय/विद्यालयहरुसँग साझेदारी गरेका उद्योग तथा विद्यालयहरुमा कार्यरत सुपरभाइजर र शिक्षकहरुका लागि मिति२०८१ असार १० गतेदेखि सुरु भएको ५ दिवसीय इन कम्पनी प्रशिक्षक तालिमको आज सुख्खानगर स्थित होटल एभरेष्ट इनमा समापन भएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्बिनी प्रदेश निर्देशक गोपाल आर्चायको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन भएको हो ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले कार्यक्रममा मन्तव्य राख्नुहुँदै उद्योगमा कार्यरत सुपरभाइजरहरुको क्षमता विकासमा आधारित तालिमवाट प्राविधिक तथा व्यावस्थापकीय कार्य सम्पादनका लागि इन कम्पनी प्रशिक्षक तालिम आयोजना गरिएको बताउनु भयो । साथै रुपन्देही उद्योग संघले उद्योगमा रहेका जन शक्तिका क्षमता विकासका लागि प्राविधिक तालिमहरु लुम्बिनी प्रदेशका विभिन्न स्थानमा संचालन गरिरहेको र प्राविधिक शिक्षालयमा २४ महिने प्रि डिप्लोमा अध्ययन गर्ने विभिन्न विषयका औद्योगिक प्रशिक्षार्थीहरुलाई व्यवहारिक ज्ञान दिन विभिन्न उद्योगहरुसँग सहकार्य संघले गरिरहेको जानकारी दिनुभयो ।
५ दिवसीय इन कम्पनी प्रशिक्षक तालिममा सहभागिहरुलाई शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि गोपाल आर्चायले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयुक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पुर्याउने भएकाले यस्तो तालिम आयोजना गर्ने रुपन्देही उद्योग संघ, सिप विकास इकाइ, दिगो तथा सम्मानित रोजगारका लागि सिप परियोजना (इन्स्योर, दोश्रो चरण) र तालिमको सहजीकरण गर्ने संस्था प्राविधिक प्रशिक्षण प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
त्यसै गरी रूपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष माधवप्रसाद पौडेलले उद्योगमा रहेको प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गरेर उद्योगलाई आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नको लागि औद्योगिक प्रशिक्षार्थी तालिमलाई सहयोग गरी विभिन्न औद्योगिक प्रतिष्ठानहरूमा हुने सिकाइका लागि यो तालिम कोसेढुङ्गा सावित हुने बताउनुभयो ।
कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्राचार्य नवीन किशोर गैरेले प्राविधिक शिक्षाका लागि औद्योगिक प्रशिक्षार्थी तालिम महत्वपूर्ण भएकाले उद्योगको कार्यस्थलमा सिकाईका क्रममा त्यहाँ कार्यरत सुपरभाइजरले उद्योगमा सिक्न आउने प्रशिक्षार्थीलाई सही तरिकाले निर्दिष्ट गर्नको लागि यो तालिम महत्वपूर्ण भएको बताउनु भयो ।
५ दिनसम्म संचालित तालिममा प्राविधिक प्रशिक्षक प्रतिष्ठान TITI का प्रशिक्षक शिव वगालेले तालिममा औद्योगिक प्रशिक्षार्थीहरुलाई भर्ना गर्ने उद्योगहरुमा प्राप्त सिपहरुलाई व्यवहारिक रुपमा कार्य स्थलमा लागु गरेमा आशातित उपलब्धि हाँसिल हुने उद्देश्यले यो तालिम संचालन गरेको बताउनु भयो ।
प्रशिक्षार्थीको रूपमा बोल्नुहुँदै तारा कुमारी गुप्ताले औद्योगिक प्रशिक्षार्थी तालिमको बारेमा पहिला त्यति धेरै जानकार नभएको र तालिम लिइसके पछी विद्यार्थीहरुलाई कार्यस्थलमा हुने सिकाइलाई प्रभावकारी बनाउने कुरा प्रस्ट्याउनु भयो । त्यसैगरी प्रशिक्षार्थीकै रुपमा रहनु भएका सूर्य खड्काले उद्योग प्रतिष्ठानमा आउने विद्यार्थीलाई सही तरिकाले सिकाई दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा रूपन्देही उद्योग संघका सहकोषाध्यक्ष विशाल बेल्बासेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालन रुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नु भएको थियो । तालिममा उद्योग प्रतिष्ठान र प्रविधिक शिक्षालय/विद्यालय गरी २० प्रशिक्षार्थीको उपस्थिति रहेको थियो ।