RCI



वेसिक अटो क्याड तालिमको शुभारम्भ ।

वेसिक अटो क्याड तालिमको शुभारम्भ ।

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि असार २ गतेदेखि १६दिने (९६ घण्टे) वेसिक अटो क्याड तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।

रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले कार्यक्रममा बोल्नुहुँदै आजको युग सूचना प्रविधि र निर्माण क्षेत्रको युग भएकाले निर्माण क्षेत्रमा अटोक्याड जस्तो सफ्टवेरको प्रयोग गरेर भवन,पुल,सडक, जलस्रोत जस्ता संरचनाहरूको डिजाइन र योजना बनाइ प्रशिक्षार्थीहरूले यही आवश्यकतालाई आत्म साथ गर्दै आधारभूत ज्ञान प्राप्तगर्न आग्रह गर्नुभयो । वहाँले अबयसलाई अझ व्यवहारिक बनाउन सिप सिकेर मात्रै नभई त्यसलाई प्रयोगमा ल्याउने आट र प्रयास जरुरी भएको बताउनुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको र यस कार्यक्रमले केवल रोजगारीको अवसर मात्र नभई नेपालको स्वदेशी प्रविधिमा आधारित दिगो विकासको आधार निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्तगर्नुभयो ।

बुटवल टेक्निकल इन्स्टिच्युटका तालिम विभाग प्रमुख मानकाजी कुमालको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले तालिमको सिकाई स्तर प्रभावकारी बनाउन विटीआइको अधिकतम योगदान हुने प्रतिवद्धता जनाउँदै अहिेलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्षजनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको भनाइ राख्नु भएको थियो । साथै रुपन्देही उद्योग संघले उद्योगमा रहेको जनशक्तिको क्षमता अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो ।

ग्रिल स्टिल तथा आल्मुनियम व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष मोहन प्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्नुहुँदै अटोक्याड जस्तो प्रविधि निर्माण, इन्जिनियरिङ र आर्किटेक्चर क्षेत्रमा अत्यन्त उपयोगी भएको र यही आधारमा भविष्यमा प्रशिक्षार्थीहरुले स्वरोजगार, रोजगारका लागि नयाँ ढोका खोल्न मद्दत हुने बताउनुभयो । सो अवसरमा रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले तालिम उपलब्धि मूलक र उद्देश्य परक रहने अपेक्षा सहित शुभकामना दिनुभएको थियो ।

बुटवल टेक्निकल इन्स्टिच्युटका आइटी अफिसर प्रकाश आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बुटवल टेक्निकल इन्स्टिच्युटकी तालिम प्रशिक्षक सन्तोष श्रेष्ठले गर्नुभएको थियो । तालिमको लागि १७उद्योगबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । तालिमको संयोजन रूपन्देही उद्योग संघ सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो । युवाहरूलाई अटोक्याड सम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गरी निर्माण तथा डिजाइन क्षेत्रसँग सम्बन्धित रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।