रुपन्देहीका उद्योगी, शैक्षिक संस्था र प्रशिक्षार्थीबीच दुई दिवसिय अन्तरकृया सम्पन्न

रुपन्देहीका उद्योगी, शैक्षिक संस्था र प्रशिक्षार्थीबीच दुई दिवसिय अन्तरकृया सम्पन्न
बुटवल चैत्र ५, २०८०
रुपन्देहीका उद्योगी, शैक्षिक संस्था र प्रशिक्षार्थीबीच दुई दिवसिय अन्तरकृया चैत्र ५ र ६ गते रुपन्देही उद्योग संघको सभाहलमा सम्पन्न भएको छ । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा संचालित शिप विकास ईकाईको आयोजनामा सम्पन्न अन्तरकृयाले अप्रेन्टिस तालिमको उद्देश्यलाई थप उजागर गरेको छ । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षतामा सम्पन्न अन्तरकृयामा पहिलो दिन इलेक्ट्रिकल र मेकानिकल र दोस्रो दिन मेकानिकल र विल्डिङ्ग कन्सट्रक्सनसँग सम्बन्धित उद्योगी, शिक्षालय र विद्यार्थीहरुबीच पढाई, सिकाई र काम गराई सन्दर्भमा अन्तरकृया सम्पन्न भएको हो । कार्यक्रममा बोल्नुहुुँदै संघका अध्यक्ष दिलिप सापकोटाले शिपयुक्त जनशक्ति उत्पादन र उद्योगहरुमा खपत गरिनुले उत्पादकत्वमा बृद्धि भई अर्थतन्त्रमा समेत टेवा पुग्ने हुँदा तालिमलाई उपलब्धीमूलक र उद्देश्यपरक गराउन सबैसँग आग्रह गर्नुभयो । वहाँले शिक्षालयको छोटो अवधिको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न उद्योगहरुमा लामो समय व्यतित गर्ने विद्यार्थीहरुलाई सहयोग र मार्गदर्शन तयार गरिदिन विद्यालयहरु र उद्योगीहरुसँग आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत गर्नुहुँदै संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले परियोजनाका गतिविधि र कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा कोरिया नेपाल बहु प्राविधिक शिक्षालयका प्राचार्य नविन किशोर गैरे, शान्ति नमुना मा.बि.का प्राचार्य कुल प्रसाद लामिछाने, जनता मा.बि.का. प्राचार्य प्रचण्ड जि.सी . लगायतले बोल्नुहुँदै शिक्षालयहरुमा विद्यार्थीहरुका सिकाईका गतिविधि र उद्योगीहरुबाट गरिएका अपेक्षाहरु सन्दर्भमा आ—आफ्ना अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष माधब प्रसाद पौडेलले यस्तो खालको अन्तरक्रियाले तालिमलाई टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुँदै निर्माण व्यवसायीसंघ बुटवलका अध्यक्ष बुद्धी बहादुर थापाले निर्माणका लागि दक्ष जनशक्ती उत्पादनमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उद्योगीहरुकोअनुभबबाट पञ्चकन्या गु्रपका महाप्रबन्धक देवेन्द्र साहुले aaphनो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा कार्यस्थलमा हुने सिकाईका लागि शिक्षालय, उद्योगी र प्रशिक्षार्थीबीच त्रिपक्षीय सम्झौता समेत गरिएको कार्यक्रम संयोजक खिमानन्द रिजालले बताउनु भएको छ ।
कार्यक्रम संचालन गर्नुहुँदै संघका महासचिव हिरामणी भट्टराईले प्रशिक्षार्थी विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै समग्र औद्योगिक विकासमा हातेमालो गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा २० जना उद्योगी, ८० जना प्रशिक्षार्थी र ३ वटा शिक्षालयका प्रशिक्षकहरुको सहभागिता रहेका थियो ।