इन्जेक्सन मोल्डिङ्ग तथा एक्स्ट्रुडर मेसिन अपरेटर तालिम समापन ।

इन्जेक्सन मोल्डिङ्ग तथा एक्स्ट्रुडर मेसिन अपरेटर तालिम समापन ।
बुटवल, ५ चैत २०८१
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा प्लास्टिकसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि१६ दिने निःशुल्क इन्जेक्सन मोल्डिङ तथा एक्स्ट्रुडर मेसिन अपरेटर तालिमको बुटवलमा समापन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उत्पादकत्व अभिवृद्धि गर्दै स्वरोजगार युवाहरू तयार गर्ने उद्देश्यले उद्योग व्यवसाय क्षेत्रमा निरन्तर विभिन्न तालिमहरूको आयोजना गरेको बताउनुहुँदै आवश्यकताका आधारमा तालिमको पहिचानगर्दै सम्बन्धित विषयक तालिमहरु आयोजना गरिने बताउनुभयो ।
रुपन्देही उद्योग संघका सहकोषाध्यक्ष विशाल बेलबासेले शुभकामना मन्तव्य राख्नु हुँदै तालिमबाट हासिल गरेको व्यवहारिक र सैद्धान्तिक ज्ञानबाट सीप अभिवृद्धि गरी आफ्नो पेशागत क्षेत्रमा लागु गर्नअनुरोध गर्नुभयो ।
प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्नुहुँदै पवनपुत्र प्लास्टो इन्डस्ट्रीजका सञ्चालक सृजन पाण्डेले तालिमबाट आफुले सिकेको ज्ञानलाई उद्योगमा प्रयोग गर्न पाउँदा व्यवसायमा धेरै फाइदा पुगेको र पेशाप्रति स्वाभिमान बढेको बताउनुहुँदै तालिमलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो ।
तालिममा प्रमुख प्रशिक्षक रहनुभएका अखिलेश यादवले तालिमलाई प्रभावकारी र सिकाई योग्य बनाउनका लागि रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाबाट भएको पटक पटकको अनुगमन पश्चात दिएको पृष्ठपोषणले झन् उत्साहित बनाएकोे जानकारी गराउनुभयो ।उहाँले आगामी दिनहरूको तालिमलाई थप प्रभावकारी र उपलब्धि मूलक बनाउन यस अनुभव महत्वपूर्ण रहेको समेत बताउनुभयो । रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा १५ उद्योगबाट सहभागि २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको संयोजन सिप विकास एकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र सिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो ।