औद्योगिक एसी तथा फ्रिज मर्मत तालिमको समापन ।
औद्योगिक एसी तथा फ्रिज मर्मत तालिमको समापन ।
बुटवल, ११ मङ्सिर २०८२
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा मेकानिकल र इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादनमूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि औद्योगिक एसी तथा फ्रिज मर्मत विषयक १६ दिने (९६ घण्टे) निःशुल्क तालिम बुटवलमा सम्पन्न भएको छ ।
रूपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा बोल्नुहुँदै वहाँले यो तालिमले उत्पादन गरेको दक्ष प्राविधिक जनशक्ति उद्योग क्षेत्रका लागि अमूल्य पूँजी भएको उल्लेख गर्दै स्वदेशमै सीपयुक्त जनशक्ति विकास हुँदा उद्योगका मर्मत–सम्भार खर्च घट्ने, सेवा गुणस्तर बढ्ने र रोजगारीका सम्भावनाहरू विस्तार हुने कुरामा जोड दिनुभयो । वहाँले तालिमबाट प्रशिक्षार्थीलाई समाजमा आत्मविश्वासपूर्वक उभिन, परिवारसँग सम्मानित रूपमा जीवनयापन गर्न तथा व्यावसायिक पहिचानका साथ अघि बढ्न सक्षम बनाउँने कुरा स्पष्ट पार्नुभयो ।
इन्स्योर परियोजनाका अनुगमन तथा मूल्याङ्कन संयोजक नेपालुराम चौधरीले तालिममा सहभागीहरूको सक्रियता, जिज्ञासा र प्रतिबद्धताले प्रतिफल उत्साहजनक रहेको भन्दै, यस्तो सीपले प्रशिक्षार्थीलाई व्यावसायिक रूपमा सक्षम मात्र नभई , भविष्यमा स्वावलम्बी जीवन निर्माण गर्ने ,उद्योग क्षेत्र, श्रमिक क्षमता विकास र स्थानीय अर्थतन्त्र सबैमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षकको रुपमा रहनुभएका सुमित श्रेष्ठले तालिमको संरचना, उद्देश्य र व्यावहारिक कार्यविधि अन्तर्गत रहेर प्राप्त गरेको सीपलाई निरन्तर अभ्यास, अद्यावधिक ज्ञान र पेशागत नैतिकताको साथमा उपयोग गर्न आग्रह गर्दै, यिनै क्षमताले भविष्यमा प्रशिक्षार्थीलाई दिगो रोजगारी, व्यावसायिक आत्मविश्वास र सम्मानित जीवनयापनतर्फ अघि बढाउने बताउनुभयो ।
प्रशिक्षार्थीको रूपमा रहनुभएका पञ्चकन्या समूहका इलेक्ट्रिसियन दामोदर बस्याल र पाण्डे इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स मर्मत सेन्टरका सञ्चालक नारायण प्रसाद पाण्डेले समापन कार्यक्रममा आफ्ना अनुभव बताउँदै तालिमले प्रदान गरेको व्यवहारिक सीप, उपकरण परिचालन क्षमता र उद्योगमैत्री ज्ञानले आफ्नो पेशागत दक्षता वृद्धि गरेको, रोजगार र उद्यमशीलताका अवसरहरूमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
रूपन्देही उद्योग संघका सचिव अशोक कुँवरको सञ्चालनमा भएको कार्यक्रममा १६ उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको हो । उद्योगमा कार्यरत पेशाकर्मीको लागि आवश्यक सीप र ज्ञान प्रदान गरी व्यावसायिक दक्षता वृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।