RCI



इलेक्ट्रिकल सवारी साधन तालिमको समापन तथा इन्जिन प्रणाली व्यवस्थापन तालिमको शुभारम्भ ।

इलेक्ट्रिकल सवारी साधन तालिमको समापन तथा इन्जिन प्रणाली व्यवस्थापन तालिमको शुभारम्भ ।

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा रूपन्देही आसपासका क्षेत्रमा अटो मोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको लागि जेठ ४ गते देखि जेठ २० गते सम्म सञ्चालन भएको १६ दिने (९६ घन्टे) निःशुल्क तालिमको बुटवलमा समापन गरिएको छ । साथसाथै व्यवसायीको मागलाई मध्यनजर गर्दै आजै बाट इन्जिन प्रणाली व्यवस्थापन तालिमको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा बोल्नुहुँदै रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अहिलेको यो प्रविधि युगमा प्रविधि र दक्षता नै व्यक्तिको पहिचान बन्न पुगेकाले इलेक्ट्रिक सवारी साधन तालिम पूरा गर्नुभएका प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई दिँदै इन्जिन प्रणाली व्यवस्थापन तालिम पनि अत्यन्तै आवश्यक भएको जसको कारण सवारी साधन मर्मत सम्भारको क्षेत्रमा दक्ष जनशक्तिको खाँचो देशभर हुँदा समस्या भोग्नु परेकाले प्रविधिको विकास सँगै सीप र ज्ञान अपडेट नगरेसम्म प्रतिस्पर्धामा अगाडि बढ्न नसकिने बताउनुभयो । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको रयस कार्यक्रमले केवल रोजगारीको अवसर मात्र नभई नेपालको स्वदेशी प्रविधिमा आधारित दिगो विकासको आधार निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख अतिथिरहनु भएकी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले बोल्नुहुँदै प्रविधि र वातावरणीय संरक्षणको दृष्टिले यस्ता तालिमहरू अत्यन्तै आवश्यक भएको ,वर्तमानमा इलेक्ट्रिक सवारी साधन प्रति विश्वव्यापी आकर्षण बढिरहेकोले यस्ता प्रविधिसँग तालमेल मिलाउँदै स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादनगर्न स्थानीय सरकारका तर्फबाट यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले तालिम केवल व्यक्तिगत शिप विकासका लागि मात्र नभई राष्ट्रिय विकास र वातावरण संरक्षणका लागि अपरिहार्य भएको बताउनुहुँदै बदलिदो प्रविधि सँग प्रतिस्पर्धा गर्न र उज्वल भविष्य निर्माण गर्न यो तालिम आजको आवश्यकता भएको जानकारी दिनुभयो ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनको अध्यक्षता रहेको कार्यक्रममा बोल्नु हुँदै वहाँले प्रशिक्षार्थीलाई समय सापेक्ष व्यावसायिक र अत्यन्तै आवश्यक विषयमा तालिमलिने अवसर मिलेकोले अवसरको सदुपयोग गर्न आग्रह गर्नुहुँदै नेपालमा इभीको प्रयोग बढ्दै गएकाले दक्ष जनशक्तिको माग बढ्दो भएको, तालिमले रोजगारका अवसर सिर्जना गर्नुका साथै स्वदेशी प्रविधिमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनुको साथसाथै व्यावसायिक क्षमता बढाउन तालिम अपरिहार्य रहेको बताउनुभयो ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देहीका पूर्व अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरेले विद्यमान बेरोजगारी समस्या समाधान गर्न यस्ता सीप मूलक तालिम आवश्यक रहेको उल्लेख गर्दै सहभागी प्रशिक्षार्थीहरूलाई सिकेको ज्ञान व्यवहारमा उतार्न आग्रह गर्दै सीप भनेको केवल काम खोज्नको लागि मात्र नभई ,आफै केहीगर्ने, आफै व्यवसाय सुरु गर्ने आधार भएको बताउनुभयो ।

प्रशिक्षार्थीको तर्फबाट आफ्नो भनाइ राख्नुहुँदै यज्ञ एण्ड विनोद बोडी बिल्डर्सबाट अमन लामिछानेले विद्युतीय सवारी साधन सम्बन्धी तालिमले आधुनिक प्रविधिको ज्ञान मात्रै नभई व्यवहारिक सिप प्रदान गरेको,तालिमको क्रममा विद्युतीय सवारी साधनको संरचना, संचालन प्रणाली, मर्मत सम्भार,ब्याट्री व्यवस्थापन, चार्जिङ प्रविधि लगायतका महत्वपूर्ण पक्षहरुमा विस्तृत ज्ञान हासिल गरेको बताउनुहुँदै प्रशिक्षकहरूको मार्गदर्शन संस्था र व्यवस्थापन पक्षको सहयोगले तालिम प्रभावकारी र उपयोगी भएको बताउनुभयो ।

संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख धुर्वराज भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुनीत पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा १५ उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो भने अर्को तालिमको लागि १६उद्योगबाट २० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । युवाहरूलाई इलेक्ट्रिक सवारी साधन र इन्जिन प्रणाली सम्बन्धी व्यवहारिक ज्ञान,शिपप्रदान गरीउनीहरू आफ्नो क्षेत्रमा स्वरोजगार सिर्जना गर्नु र आफै आत्मनिर्भर बन्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रुपन्देही उद्योग संघले जनाएको छ । तालिमको संयोजन रूपन्देही उद्योग संघ सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो ।