ऊर्जा दक्षता तालिमको शुभारम्भ ।

ऊर्जा दक्षता तालिमको शुभारम्भ ।
बुटवल, २९ चैत
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाइको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकलसँग सम्बन्धित उत्पादन मूलक उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १२ दिने (४८ घण्टे) निःशुल्क ऊर्जा दक्षता तालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले बोल्नुहुँदै प्राविधिक ज्ञान आर्जन गर्दै सीपको अधिकतम उपयोग गरी उपलब्धि मूलक बनाउन प्रशिक्षार्थीहरू लाई आग्रह गर्नुभयो । उहाँले क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर समेत सिर्जना गर्न यस्ता तालिमले सहयोग पुर्याउने आशा राख्दै सिपयुक्त जनशक्तिको उत्पादनगर्न रूपन्देही उद्योग संघले विभिन्न तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहन ुभएका ई. मोहम्मद अबुल हसन खाँले तालिमलाई प्रभावकारी र सिपयोग्य बनाउनका लागि नियमित, अनुशासित र सिकाईयोग्य वातावरण सिर्जना गरी तालिम सञ्चालन हुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो । वहाँले सहभागीहरूलाई ऊर्जाको महत्त्व,यसको बचत, समुचित प्रयोग गर्न र यसलाई विभिन्न औद्योगिक प्रणालीका कार्यहरूमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा आधारित रहेर तालिम प्रदान गरिने जानकारी गराउनुभयो ।
रुपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले कार्यक्रममा सहभागीहरूलाई व्यस्त समयको बावजुद पनि आफ्नो समय व्यवस्थापन गरेर सीप अभिवृद्धि गर्नको लागि आउनु भएका सहभागीहरू लाई स्वागत गर्नुभएको थियो ।
रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा १६ उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो । बजारमा सम्वन्धित पेशामा कार्यरत कामदारहरुलाई आधुनिक तथा उच्च स्तरको ऊर्जा सम्बन्धी ज्ञान, सीप दिई दक्ष, सक्षम र उपयोगी पेशाकर्मी वनाउन मद्दत गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।