रुपन्देहीका उद्योगमा कार्यरत प्राविधिक जनशक्तिको स्तरोन्नतिका तालिम संचालन उद्योगी र कामदार दुवैलाई प्रतिफलमुखी भएको धारणा व्यक्त

रुपन्देहीका उद्योगमा कार्यरत प्राविधिक जनशक्तिको स्तरोन्नतिका तालिम संचालन
उद्योगी र कामदार दुवैलाई प्रतिफलमुखी भएको धारणा व्यक्त
बुटवल, २६ चैत २०८०
रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका उद्योगमा कार्यरत प्राविधिकहरुको स्तरोन्नतिका लागि क्षमता अभिवृद्धिका तालिमहरु निरन्तर संचालन भइरहेका छन् । औद्योगिक क्षेत्रमा दक्ष कामदारको समस्या परिरहेको बेला यस्ता तालिमले उद्योगी र मजदुरलाई सहज भएको उनीहरुले जनाएका छन् । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित शिप विकास ईकाईको आयोजनामा संचालित यस्ता विधागत तालिम प्रति सहभागीको पनि चासो बढ्दै गएको छ । हरेक क्षेत्रका विज्ञ प्रशिक्षकहरुबाट एकपटकमा २० जना सहभागी बनाएर ९६ घन्टा दिइने यस्ता तालिममा उद्योगीहरुले छनौट गरेर सहभागीलाई पठाउने गरेको उद्योग संघका कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी बताउनुहुन्छ ।
सोमबार मेशिन प्रोग्राम कन्ट्रोलर तथा ड्राइभ संचालन र मर्मत तालिमको समापन गरियो भने दोस्रो चरणको तालिम शुभारम्भ गरियो । कार्यक्रममा भिएफडी तालिमका प्रशिक्षार्थी अमृत नेपालीले नयाँ प्रविधिबारे अधिकतम जानकारी पाएर धेरै लाभ लिन सकेको र यसलाई व्यवहारिक रुपमा प्रयोग गर्ने बताउनु भयो । पिएलसी तालिमका सहभागी प्रशिक्षार्थीहरुको तर्पmबाट मन्तव्य राख्नुहुँदै अंमृत नेपालीले यस प्रकारका विद्यागत तालिमले सहभागी सबैलाई आन्तरिक क्षमताको विकास गराउने भएकाले संघले यस्ता कार्यक्रम सबै क्षेत्रलाई योजना बनाएर संचालन गर्न आग्रह गर्नुभयो ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा महासचिव हिरामणि भट्टराईको संचालनमा भएको कार्यक्रममा स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेलले संघले समायानुकुल र आवश्यकता बमोजिमको तालिमहरु संचालन गर्दै आएको र यस्ता तालिमलाई प्रभावकारी बनाउन सिकेका सीप कार्यान्वयनमा लैजान सुझाव दिनुभयो ।
प्रमुख अतिथि पूर्व अध्यक्ष एवं अध्यक्ष परिषद्का संयोजक डम्बरदेव अर्यालले स्थापनाकालदेखि नै संघले औद्योगिक विकासका लागि कटिवद्ध रहेर विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताउनु भयो । औद्योगिक क्षेत्रमा सीपको सिकाईले सबैलाई फाइदा पुग्ने जनाउँदै यसको अधिकतम प्रयोग गर्न समेत आग्रह गर्नुभयो ।
पूर्वअध्यक्ष बाबुराम बोहोराले हरेक उद्योगमा आवश्यक प्रविधि सम्बन्धि तालिमलाई संघले योजना बनाएर आवश्यकताका आधारमा अगाडि बढाउनु पर्ने बताउनु भयो ।
सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालले आयोजनाले हरेक क्षेत्रका उद्योगमा रहेका कामदारहरुलाई प्राथमिकताका आधारमा यस प्रकारका तालिम संचालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगी र कामदारलाई सहज बनाउने यस प्रकारका तालिमले काम गर्न सहजता प्रदान गरेकाले आगामी दिनमा यसलाई निरन्तरता दिएर अगाडि बढाउने धारणा राख्नु भयो ।
सोही कार्यक्रमका बीच संघले प्रकाशन गरेको भित्ते तथा टेबुल क्यालेण्डर विमोचन गरिएको छ । भित्ते क्यालेण्डर प्रकाशनका लागि कार्य समिति सदस्य लाल प्रसाद बस्यालले संयोजन गर्नु भएको थियो भने टेवल क्यालेन्डर प्रकाशनका लागि कार्य समिति सदस्य प्रज्ववल थान्जुले संयोजन गर्नुभएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्य प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।