भिएफडी तालिमको शुभारम्भ ।

रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा र उद्योग व्यापार संगठन रुपन्देही सिद्धार्थनगरको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घन्टे) निःशुल्क भिएफडी तालिमको भैरहवामा शुभारम्भ गरिएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष दिलिप सापकोटाले उद्घाटन समारोहमा बोल्नुहुँदै यो तालिमले हाम्रो युवा पुस्तालाई प्रविधि मैत्री, दक्ष र प्रतिस्पर्धी बनाउन सहयोग गर्ने र आजको युग प्रविधिमा द्रुत गतिमा अगाडि बढिरहेको र यस्तो सन्दर्भमा भिएफडी जस्तो प्रविधिको ज्ञान औद्योगिक उत्पादन, ऊर्जा दक्षता र मर्मत सम्भारको क्षेत्रमा उपयोगी मात्र नभई, अपरिहार्य बन्दै गएको बताउनुभयो ।
प्रमुख अतिथिको रुपमा रहनु भएका उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले यस्ता तालिमबाट अब शिक्षा मात्र नभई दक्षता प्राप्ति र प्रविधिको सदुपयोग सिकाउँदै युवाहरूलाई सशक्त आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन टेवा पुग्नेमा जोड दिनुहुँदै तालिमबाट महत्वपूर्ण सिप सिकेर जीवनको नयाँ यात्रा सुरु गर्नको लागि आग्रह गर्नुभयो । वहाँले यस तालिमले नयाँ उद्योगमैत्री सीप व्यावहारिक ज्ञान र आधुनिक सोच प्रदान गर्ने बताउनुभयो ।
उद्योग व्यापार संगठन रूपन्देही सिद्धार्थ नगरकी महासचिव लक्ष्मी अधिकारीले स्वागत मन्तव्य राख्नुहुँदै आजको युग प्राविधिक क्रान्तिको युग भएको, हरेक क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता तीव्र रुपमा बढ्दै गएका ेबताउनुभयो ।
तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनु भएका अखिलेश कुमार यादवले तालिमलाई प्रभावकारी र सिप योग्य बनाउनका लागि नियमित,अनुशासित र सिकाई योग्य वातावरण सिर्जना गरी तालिम सञ्चाल नहुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो । वहाँले विद्युत तथा इलेक्ट्रोनिक्स प्रणालीमा भीएफडी एक महत्वपूर्ण प्रविधि भएको जसले विद्युतमोटरहरूको गति नियमन गर्न मद्दत गर्ने, ऊर्जा बचत, यन्त्रको दीर्घायु तथा दक्ष उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा इन्स्योर परियोजना लुम्बिनी प्रदेश टेक्निकल अफिसर विनय गौतम ,उद्योग व्यापार संगठन रूपन्देहीका कार्यसमिति सदस्य कृष्ण मरासनी, राम प्रसाद भण्डारीर उषा बेलबासेको सहभागिता रहेको थियो ।
रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा १४ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । कार्यक्रमको संयोजन शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको हो । तालिमको मुख्य उद्देश्य प्रशिक्षार्थीलार्ई भिएफडीको प्रयोग, स्थापना, संचालन र मर्मत सम्भार सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिई प्राविधिक दक्षता अभिवृद्धि गर्दै रोजगारी र स्वरोजगारका अवसरहरूमा सहयोग पु¥याउनु रुपन्देही उद्योग संघले जनाएको छ ।