इन्जेक्सन मोडलिङ तथा एक्स्टुडर मेसिन सम्बन्धी सीप अभिवृद्धि तालिमको शुभारम्भ ।

इन्जेक्सन मोडलिङ तथा एक्स्टुडर मेसिन सम्बन्धी सीप अभिवृद्धि तालिमको शुभारम्भ ।
बुटवल, ५ फागुन २०८१
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा रुपन्देही आसपासका क्षेत्रमा प्लास्टिकसँग सम्बन्धित उद्योगमा कार्यरत पेशा कर्मीको सीप अभिवृद्धिका लागि फाल्गुन ५ गतेदेखि १६ दिने ९६ घण्टे तालिमको बुटवलमा उद्घघाटन गरिएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले तालिममा सहभागी भएका प्रशिक्षार्थीको अभ्यास तथा उनीहरूको सिकाईमा क्षमता अभिवृद्धि गर्ने,कार्यमा थप प्रगति हुने, पेशालाई दिगो बनाउने, दिगो भएपछि समाजमा श्रमको सम्मानका साथ जीवनयापन गर्न सहज हुने, पेशाकर्मीको सीपलाई निखार्न सकेको खण्डमा उद्योगको साथसाथै पेशाकर्मीको पनि विकास हुने र उद्योगमा रहेको जनशक्तिलाई आवश्यक पर्ने तालिमको पहिचान गर्दै सम्बन्धित विषयमा तालिमहरु सञ्चालन गर्ने बताउनु हुँदै रूपन्देही उद्योग संघका गतिविधि बारे आफ्नो धारणा राख्नुभयो ।
रूपन्देही उद्योग संघका सहकोषाध्यक्ष विशाल बेलबासेले प्रशिक्षार्थीलाई स्वागत गर्नुहुँदै उद्योगमा रहेको जनशक्तिको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको र सिप सिकेर आफूमा मात्र सीमित नराखी उद्योगमा समेत टेवा पुर्याउन आग्रह गर्नुभयो ।
रूपन्देही उद्योग संघका कार्यसमिति सदस्य राजु घिमिरेले शुभकामना मन्तव्य मार्फत उद्योग चलाएर बस्ने उद्योगीको लागि दक्ष जनशक्ति नहुँदा बाहिरबाट जनशक्ति लिएर काम गरिराख्नु परेको अवस्थालाई यो तालिमले टेवा पुग्ने विश्वास लिएको बताउनुहुँदै सिप सिकेर क्षमता विकास गरी देशभित्रै रोजगारी सिर्जना गरी आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मानसिकता बनाउनको लागि आग्रह गर्नुभयो ।
तालिममा प्रमुख प्रशिक्षकको रूपमा रहनु भएका अखिलेश कुमार यादवले तालिमलाई प्रभावकारी र सीप योग्य बनाउनका लागि नियमित,अनुशासित र सिकाई योग्य वातावरण निर्माण गरी तालिम सञ्चालन हुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुनेगरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
रूपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा १५ उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संयोजन शिप विकास एकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र शिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो ।