बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव सम्बन्धमा रुपन्देही उद्योग संघमा अन्तरसंवाद

बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव सम्बन्धमा रुपन्देही उद्योग संघमा अन्तरसंवाद
२०८१ जेष्ठ २८
बुटवल,
रुपन्देही उद्योग संघले नेपाल सरकार अर्थ मन्त्रालयद्वारा गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/०८२ को संघीय बजेटका विषयमा उद्योगी–व्यवसायीहरुसँग अन्तरसंवाद गरेको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीसँगको सहकार्यमा गरिएको उक्त कार्यक्रममा बजेटका कारण करको हेरफेर, भन्सार विधेयकले पारेको प्रभाव, आर्थिक ऐनमा व्यवस्था गरिएको नयाँ प्रावधान एवं र छुट सुविधा लगायतका विषयमा उद्योगीहरुलाई विज्ञहरुको तर्फबाट जानकारी दिइएको थियो ।
नेपाल चाटर्ड एकाउन्टेण्ट्स रुपन्देहीका सचिव सिए. सगुण खनालले बजेट नीति र करमा भएका हेरफेरका विषयमा जानकारी दिनुभएको थियो । वहाँले अहिले भन्सार महशुल ऐनमा भएको हेरफेरले सबै उद्योगी व्यवसायीहरु प्रभावित बनेको बताउँदै त्यसलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वहाँले बजेट मार्फत पाएका छुट सुविधा समयमै लिन, समेत अनुरोध गर्नुभयो । वहाँले अहिलेको बजेटमा थपिएको हरित कर, अन्त शुल्क, मु.अ.कर, पैठारी माल बाहक गाडीमा लाग्ने शुल्क, कृषि क्षेत्रमा गरिएको १० प्रतिशत आयकर जस्ता विषयले उद्योग क्षेत्रमा प्रभाव पर्न गई महङ्गी बढ्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत गर्नुहुँदै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योग क्षेत्रमा परेका आन्तरिक समस्या र बजेटमा समावेश भएका विषयमा जानकारी दिने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भन्सारमा नै आयकर लिने विषय उचित नभएको बताउँदै सबै उद्योगहरुबाट व्यक्तिगत सुझाव संकलन गरी सिएनआई मार्पmत सरकारका निकायहरुमा पेश गरिने बताउनु भएको थियो ।
संघका पूर्व अध्यक्ष तेज कुमार पाठकले अहिले उद्योग क्षेत्र कमजोर भएको अवस्थामा बजेटमा आएका केही विषयले अझै मर्कामा पारेको भन्दै सरोकारवाला सबैको साझा धारणा आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योगीहरु हरि खत्री, इशान अली, दिपक खनाल, ऋषिकेश अग्रवाल, पशुपति पौडेल लगायतले वर्षेनी उद्योग क्षेत्रमा गरिने कर र शुल्कमा हेरफेरले उद्योगीलाई संकटमा पारेको, खाद्यान्न तर्फका उद्योगमा लगाइएको करले उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको, मुद्रण उद्योगमा लगाइएको थप करले जटिल समस्या पारेको बताउनुहुँदै उद्योगीहरुका विषयमा एकजुट भई सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिनु भएको थियो ।
रुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईको संचालन तथा वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेण्ट्स संघ रुपन्देहीका अध्यक्ष कमल ज्ञवाली, संघका पूर्वअध्यक्ष बोनिन पिया, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, संघका पदाधिकारी, सल्लाहकार, संस्थागत अध्यक्षहरु, वस्तुगत समितिका संयोजकहरु र सदस्य उद्योगीहरुको उपस्थिति रहेको थियो ।