RCI



इलेक्ट्रिकल सवारी साधन तालिमको शुभारम्भ ।

इलेक्ट्रिकल सवारी साधन तालिमको शुभारम्भ ।

इलेक्ट्रिकल सवारी साधन तालिमको शुभारम्भ ।

बुटवल, १५ वैशाख

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा रूपन्देही आसपासका क्षेत्रमा अटो मोबाइल सम्बन्धी उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिको लागि वैशाख १५ गतेदेखि १६ दिने (९६ घन्टे)निःशुल्कतालिमको बुटवलमा शुभारम्भ गरिएको छ ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनको अध्यक्षता रहेको कार्यक्रममा बोल्नु हुँदै वहाँले नेपालमा इभीको प्रयोग बढ्दै गएकाले दक्ष जनशक्तिको माग बढ्दो भएको, तालिमले रोजगारका अवसर सिर्जना गर्नुका साथै स्वदेशी प्रविधिमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनुको साथसाथै व्यावसायिक क्षमता बढाउन इभी मर्मत तालिम अपरिहार्य रहेको बताउनुभयो ।

प्रमुख अतिथि बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका पूर्व अध्यक्षतथा संरक्षक सल्लाहकार प्रेम बहादुर फौदारले इलेक्ट्रिकल भेइकल मर्मत तालिम केवल व्यक्तिगत शिप विकासका लागि मात्र नभई राष्ट्रिय विकास र वातावरण संरक्षणका लागि पनि अपरिहार्य भएको बताउनुहुँदै वहाँले बदलिदो प्रविधि सँग प्रतिस्पर्धा गर्न र उज्ज्वल भविष्य निर्माण गर्न इभीमर्मत तालिम आजको आवश्यकता भएको जानकारी दिनुभयो ।

रूपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरिबहादुर खत्रीले कार्यक्रममा बोल्नुहुँदै क्षमता विकासमा आधारित तालिमबाट प्राविधिक दक्षता अभिवृद्धि गरी औद्योगिक व्यवसायको क्षेत्र फराकिलो बनाउँदै रोजगारीको अवसर सिर्जना गर्न यस्ता तालिमले सहयोग पुर्याउने आशा राख्दै सीपयुक्त जनशक्तिको उत्पादन गर्न रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको बताउनुभयो ।

नेपाल अटो मेकानिक्स व्यवसाय महासंघका निवर्तमान अध्यक्ष जनार्दन गैरेले यिनीहरूमा प्रयोग हुने मटर, ब्याट्री ,पावर कन्ट्रोल युनिट, चार्जिङ सिस्टम जस्ता उपकरणहरू परम्परागत गाडीभन्दा फरक भएको र यस्ता जटिल प्रविधिहरूको उचित ज्ञानबिना मर्मत सम्भवन भएको बताउँनुहुँदै यो तालिम सञ्चालन गर्ने आयोजकलाई धन्यवाद दिनुभयो ।

तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका ई.सन्दीप लेखकले तालिमलाई प्रभावकारी र सिप योग्य बनाउनका लागि नियमित, अनुशासित र सिकाई योग्य वातावरण सिर्जना गरी तालिम सञ्चालनहुने र तत्काल उद्योगमा रहेको प्राविधिक समस्यालाई सम्बोधन हुने गरी तालिम सञ्चालन गरिने जानकारी गराउनुभयो । वहाँले सहभागीहरूलार्इ इभीको आधारभूत संरचना र कार्यविधि, ब्याट्री प्रविधि र मर्मत, इलेक्ट्रिक मोटरहरू र तिनको मर्मत, पावर इलेक्ट्रोनिक्स र कन्ट्रोल सिस्टम, सुरक्षा नियमहरू र सावधानी, प्रायोगिक अभ्यास, रुटिन मर्मत र समस्या समाधान , चार्जिङ प्रणाली र चार्जरहरु विषयमा आधारित रहेर तालिम प्रदान गरिने जानकारी गराउनुभयो ।

संस्थाका उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख धुर्वराज भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव पुनीत पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा १७ उद्योगबाट २० जनाको सहभागिता रहेको छ । बजारमा सम्वन्धित पेशामा कार्यरत कामदारहरुलाई नयाँ प्रविधिमा आधारित विद्युतीय सवारी साधनको समुचित ज्ञान र दक्षता विकास गर्नु रहेको छ ।

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजना बीचको सहकार्यमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सीप मूलक तालिमहरु आयोजना गर्ने क्रममा बुटवलमा पहिलो पटक इभी सवारी साधनको तालिमको आयोजना गरिएको हो । तालिमको संयोजन रूपन्देही उद्योग संघ सिप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थियो ।