RCI



Euro 6 (BS6) इन्जिन प्रणाली तालिम सम्पन्न

Euro 6 (BS6) इन्जिन प्रणाली तालिम सम्पन्न

Euro 6 (BS6) इन्जिन प्रणाली तालिम सम्पन्न
बुटवल, २७ चैत्र २०८२

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग तथा बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देहीको आयोजनामा सञ्चालन गरिएको १६ दिने (९६ घन्टे) निःशुल्क Euro 6 (BS6) इन्जिन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको छ। माघ २७ गतेदेखि सुरु भएको उक्त तालिम बुटवलमा औपचारिक रूपमा समापन गरिएको हो।

समापन समारोहमा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योग क्षेत्रमा आवश्यक सीपयुक्त जनशक्तिको अभाव न्यूनीकरण गर्न संघले निरन्तर यस्ता तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आधुनिक प्रविधिमा आधारित BS6 तालिमले अटोमोबाइल क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै सवारीसाधनबाट हुने प्रदूषण न्यूनीकरण गरी जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो। कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देहीका अध्यक्ष प्रेम गौचनले नेपालजस्तो विकासोन्मुख देशका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सवारी प्रविधि अपनाउनु अपरिहार्य भएको बताउँदै यस क्षेत्रमा प्राविधिक तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा राख्नुभयो।

उद्घाटन अवसरमा उद्योग उपाध्यक्ष तथा प्रविधि तालिम विभाग प्रमुख धुर्वराज भुसालले विश्वव्यापी रूपमा लागू हुँदै गएको BS6 मापदण्ड वातावरणमैत्री, इन्धन–दक्ष तथा आधुनिक प्रविधिको आधार भएको उल्लेख गर्दै यस्ता तालिमले दक्ष प्राविधिक उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संस्थाका पूर्व अध्यक्ष केवलप्रसाद यादवले सवारी प्रविधि तीव्र रूपमा परिवर्तन भइरहेका सन्दर्भमा प्राविधिकहरू निरन्तर अद्यावधिक हुनुपर्ने आवश्यकता औँल्याउँदै देशमै दक्ष जनशक्ति उत्पादन गर्न यस्ता तालिमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

तालिमका प्रशिक्षक गौरव पौडेलले तालिम अवधिभर Euro 6 (BS6) इन्जिन प्रणाली, उत्सर्जन नियन्त्रण प्रविधि, फ्युल म्यानेजमेन्ट, डायग्नोस्टिक टेक्नोलोजी तथा व्यवहारिक अभ्यासमार्फत सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो।

प्रशिक्षार्थीका तर्फबाट बोल्दै भरत खत्रीले तालिमले आधुनिक इन्जिन प्रणाली, इन्धन दक्षता तथा उत्सर्जन नियन्त्रण प्रविधिबारे गहिरो ज्ञान प्रदान गरेको उल्लेख गर्नुभयो। उहाँले व्यवहारिक अभ्यासले सिकाइलाई अझ प्रभावकारी बनाएको बताउँदै प्राप्त सीपलाई व्यवहारमा उतार्दै रोजगारी तथा स्वरोजगार सिर्जनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाका महासचिव पुनित पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा १४ वटा उद्योगबाट २० जना प्राविधिकहरूको सहभागिता रहेको थियो। आधुनिक, वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सवारी प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्नु नै तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ।तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजाल र कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो।