RCI



डिजिटल मार्केटिङ तालिम समापन ।

डिजिटल मार्केटिङ तालिम समापन  ।
डिजिटल मार्केटिङ तालिम समापन  ।
बुटवल, ११ बैशाख २०८३
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि सञ्चालन गरिएको १६ दिने (९६ घण्टे) निःशुल्क डिजिटल मार्केटिङ तालिमको समापन गरिएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले समापन समारोहमा बोल्नुहुँदै डिजिटल मार्केटिङ तालिम कार्यक्रमले डिजिटल युगमा सूचना, प्रविधि र नवप्रवर्तनले हरेक क्षेत्रलाई तीव्र गतिमा रूपान्तरण गरिरहेको, परम्परागत बजार प्रणालीबाट डिजिटल माध्यम तर्फको संक्रमण अहिलेको आवश्यकता बनेको उहाँले बताउनुभयो । डिजिटल मार्केटिङ अब व्यापार प्रवद्र्धनको साधन मात्र नभई, विश्व बजारसँग जोडिने प्रभावकारी माध्यमका रूपमा विकास भइरहेको उहाँको भनाइ छ । विशेषगरी साना तथा मझौला उद्यमीहरूका लागि डिजिटल प्लेटफर्महरूले सीमित स्रोतका बाबजुद पनि असीमित अवसरहरू सिर्जना गरिरहेको अध्यक्षले उल्लेख गर्नुभयो । यसले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । यहाँ प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सकिएमा व्यक्तिगत तथा व्यावसायिक जीवनमा उल्लेखनीय परिवर्तन आउने उहाँको भनाइ छ । साथै, डिजिटल माध्यमको प्रयोग गर्दा नैतिकता, विश्वसनीयता र जिम्मेवारीलाई विशेष ध्यान दिन आवश्यक रहेको अध्यक्षले जोड दिनुभयो । यस तालिममार्फत सहभागीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक सीपसमेत हासिल गर्नुभएको छ भन्ने विश्वास व्यक्त गर्दै सही सूचना प्रवाह, ग्राहकसँगको विश्वास र पारदर्शिता नै दीर्घकालीन सफलताको आधार हुने उहाँले बताउनुभयो ।
तालिमका प्रशिक्षक इन्जिनियर अमृत रानाभाट र विनय शर्माले डिजिटल मार्केटिङ तालिमको समापन कार्यक्रममा सहभागीहरूको सक्रियता, लगनशीलता र सिकाइप्रतिको उत्साहको उच्च प्रशंसा गर्नुभएको छ । छोटो समयमै सहभागीहरूले उल्लेखनीय प्रगति गरेको देख्दा आफू अत्यन्त खुशी भएको उहाँले बताउनुभयो । तालिममा सिकाइएका सीपहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा उहाँले विशेष आग्रह गर्नुभयो । डिजिटल प्लेटफर्महरूको प्रभावकारी प्रयोगमार्फत विश्व बजारसँग सहज रूपमा जोडिन सकिने उहाँले जनाउनुभयो । अबको बाटो तपाईंहरूको हातमा छ, सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुहोस्, नयाँ प्रयोग गर्न नडराउनुहोस्, र निरन्तर सिकाइलाई जीवनशैली बनाउनुहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

प्रशिक्षार्थीको तर्फबाट  ईश्वरराज मेटल इन्जिनियरिङ वर्कशप का प्रोप्राइटर राजकुमार श्रेष्ठल ेडिजिटल मार्केटिङ तालिममा सहभागी हुन पाउनु आफ्नो लागि अत्यन्तै फलदायी अनुभव रहेको, छोटो अवधिमा डिजिटल प्लेटफर्मको सही प्रयोग, सामग्री निर्माण, लक्षित दर्शक पहिचान र ब्रान्ड प्रवद्र्धनका व्यावहारिक सीपहरू सिक्ने अवसर पाएका,े प्रशिक्षक ज्यूहरूको सरल प्रस्तुति र व्यवहारिक उदाहरणहरुले सिकाईलाई अझ सहज र प्रभावकारी बनाएको बताउनुभयो ।
त्यसैगरी प्रशिक्षार्थीको तर्फबाट बुटवल बाइक रेन्टलमा कार्यरत सुमित्रा पराजुलीले तालिम अत्यन्त उपयोगी र व्यवहारिक भएको बताउनुभयो। छोटो समयमै नयाँ सीपहरू सिक्न पाएकोमा खुशी व्यक्त गर्दै उहाँले प्राप्त ज्ञानलाई आफ्नै व्यवसायमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । डिजिटल मार्केटिङमार्फत व्यवसायलाई अझ प्रभावकारी रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गर्दै उहाँले प्रशिक्षक र आयोजकप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा २० उद्योगबाट २० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन रूपन्देही उद्योग संघ सिप विकास ईकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले गर्नुभएको थियो । 
तालिमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको थियो । स्थानीय उद्योग तथा पेशाकर्मीलाई डिजिटल रूपमा सक्षम बनाउँदै विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।