तीन उद्योग छनोटसँगै बुटवलमा उद्योग क्षेत्रमा हरित सोच प्रवद्र्धन गर्न कार्यशाला सम्पन्न ।
तीन उद्योग छनोटसँगै बुटवलमा उद्योग क्षेत्रमा हरित सोच प्रवद्र्धन गर्न कार्यशाला सम्पन्न ।
बुटवल, १५ बैशाख २०८३
रुपन्देही उद्योग संघको सिप विकास इकाईको आयोजनामा सञ्चालित एकदिवसीय ग्रीन टिभेट अन्तर्गत “औद्योगिक फोहोर न्यूनीकरण तथा कार्बन फुटप्रिन्ट” विषयक कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बोल्दै अहिले विश्व दिगो विकासतर्फ अघि बढिरहेको सन्दर्भमा उद्योगहरू पनि वातावरणप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले उत्पादन र व्यवस्थापनका हरेक चरणमा वातावरणमैत्री अभ्यास अपनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । फोहोरलाई स्रोतमै छुट्याउने, पुनःप्रयोग गर्ने र स्वच्छ प्रविधि प्रयोग गर्ने जस्ता उपायहरू उद्योगमा लागू गर्नुपर्नेमा उहाँले जोड दिदै यस्ता कार्यशालाले उद्योगीहरूमा व्यवहारिक ज्ञानका साथै सोचमा सकारात्मक परिवर्तन ल्याउने विश्वासे व्यक्त गर्नुभयो ।
प्रशिक्षक इन्जिनियर दिनेश कुमार शाहले कार्यशालामा सहभागीहरूलाई फोहोर व्यवस्थापन र ग्रीन टिभेटका आधारभूत विषयहरू सरल रूपमा बुझाउनुभयो । उहाँले हरित सोचको विकासले उद्योगलाई दिगो र वातावरणमैत्री बनाउन सहयोग गर्ने बताउनुभयो । फोहोर व्यवस्थापनका लागि पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उत्पादनदेखि अन्तिम फोहोर व्यवस्थापनसम्म सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँका अनुसार उद्योगमा निस्कने ठोस, तरल र ग्यासीय फोहोरलाई पहिचान गरी वर्गीकरण गर्नुपर्छ र त्यसअनुसार सुरक्षित व्यवस्थापन गर्नुपर्छ । साथै, ऊर्जा बचत गर्ने प्रविधि प्रयोग, वैकल्पिक ऊर्जा उपयोग र प्रदूषण घटाउने उपायहरू अपनाउँदा उद्योगको लागत समेत घट्न सक्ने उहाँले जानकारी दिनुभयो ।
कार्यशालाको क्रममा कार्बन फुटप्रिन्ट मूल्याङ्कनलाई व्यावहारिक रूपमा अघि बढाउन तीन वटा उद्योग छनोट गरि ती उद्योगहरूमा आगामी दिनमा विस्तृत कार्बन फुटप्रिन्ट एसेसमेन्ट गरिनेछ । रूपन्देही उद्योग संघका महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा ३० उद्योगबाट ३४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य उद्योग क्षेत्रमा वातावरणीय जिम्मेवारी बढाउँदै हरित सोचसहितको उत्पादन प्रणाली प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।