ग्राफिक डिजाइन तालिम सम्पन्न ।
ग्राफिक डिजाइन तालिम सम्पन्न ।
बुटवल, असार ७, २०८३
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा हब आइटी ग्रुप प्रा.लिको समन्वयमा सञ्चालित १६ दिने (९६ घण्टे) निःशुल्क ग्राफिक डिजाइन तालिम आइतबार बुटवलमा सम्पन्न भएको छ ।
रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै वहाँले डिजिटल प्रविधिको तीव्र विकाससँगै ग्राफिक डिजाइन तथा डिजिटल सीप उद्योग, व्यवसाय र सेवामूलक क्षेत्रका लागि अपरिहार्य बन्दै गएको बताउनुभयो । दक्ष जनशक्ति उत्पादन, उत्पादित वस्तु तथा सेवाको प्रभावकारी प्रवद्र्धन, बजार विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वहाँको भनाइ थियो । स्थानीय जनशक्तिलाई सीपयुक्त, आत्मनिर्भर र रोजगारमुखी बनाउने उद्देश्यका साथ संघले आगामी दिनमा समेत यस्ता व्यावहारिक तथा समयसापेक्ष तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक हरिप्रसाद बन्जाडेले तालिम अवधिभर सहभागीहरूलाई ग्राफिक डिजाइनका आधारभूत तथा उन्नत पक्ष, डिजाइन सिद्धान्त, ब्रान्डिङ सामग्री निर्माण, सामाजिक सञ्जालका लागि आकर्षक कन्टेन्ट डिजाइन, डिजिटल मार्केटिङका आधारभूत अवधारणा तथा व्यावसायिक प्रयोगका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले वर्तमान बजारको मागअनुसार सिर्जनशीलता, प्रविधि र व्यवसायलाई जोडेर काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु तालिमको प्रमुख उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट बोल्दै नेपाल फार्मासिउटिकल्स लिमिटेडका सुधन चालिसेले तालिमबाट आधुनिक डिजाइन प्रविधि, ब्रान्डिङ सामग्री निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन तथा डिजिटल माध्यममार्फत व्यवसाय प्रवद्र्धन गर्न आवश्यक व्यावहारिक ज्ञान र सीप हासिल गरेको बताउनुभयो । यस्ता तालिमले पेशागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै वहाँले तालिम अवधि अझै केही लम्ब्याउन सकिएको भए थप ज्ञान र सीप हासिल गर्न सहज हुने सुझाव दिनुभयो ।
त्यसैगरी प्रशिक्षार्थीकै तर्फबाट ओराकल एजुकेसन जोनकी आकृति सुवेदीले तालिमले सिर्जनशील सोच, प्रविधिमैत्री कार्यशैली तथा व्यावसायिक क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्दै संस्थागत तथा व्यक्तिगत विकासमा उपयोग गर्ने प्रतिबद्धता समेत वहाँले व्यक्त गर्नुभयो । रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खेमानन्द रिजालको सञ्चालन रहेको कार्यक्रममा २० वटा उद्योगबाट २० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
स्थानीय उद्योग तथा पेशाकर्मीलाई आवश्यक सीप, ज्ञान र प्रविधिसँग जोड्दै विदेशी प्रविधि तथा जनशक्तिमाथिको निर्भरता न्यूनीकरण गर्ने, सम्मानित रोजगारीका अवसर विस्तार गर्ने तथा आत्मनिर्भर जनशक्ति निर्माणमा टेवा पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको रूपन्देही उद्योग संघले जनाएको छ । यस्ता कार्यक्रममार्फत उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन र औद्योगिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।