थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स तालिमको समापन ।
थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स तालिमको समापन ।
नवलपरासी, १३ बैशाख २०८३
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा सञ्चालन गरिएको १६ दिने (९६ घण्टे) निःशुल्क थ्री फेज पावर नेटवर्क एण्ड मेन्टेनेन्स तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योग क्षेत्रको दिगो विकासका लागि दक्ष प्राविधिक जनशक्तिको उत्पादन अपरिहार्य रहेको बताउनुभएको छ। उहाँले आधुनिक प्रविधिसँगै उद्योगमा विद्युत् प्रणालीको प्रयोग विस्तार हुँदै गएको उल्लेख गर्दै प्राविधिक सीप र व्यवहारिक ज्ञान अभावमा उद्योगको उत्पादनशीलता र सुरक्षा दुबै प्रभावित हुने जनाउनुभएको छ। साथै, यस्ता तालिमहरूले कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्दै उद्योगको समग्र कार्यसम्पादनमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार उद्योग क्षेत्रमा प्रयोग हुने विद्युत् प्रणाली अत्यन्त संवेदनशील र जोखिमयुक्त हुने भएकाले त्यसको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार तथा समस्या समाधानका लागि दक्ष जनशक्ति तयार पार्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । साथै यस्ता तालिमहरूले कार्यरत प्राविधिकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै उत्पादनमूलक क्षेत्रमा गुणस्तरीय सेवा प्रवाहमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यक्ष पराजुलीले सीप विकासलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै यस्ता व्यावसायिक तथा प्राविधिक तालिमहरूलाई आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले उद्योग–शिक्षा–सीपबीच समन्वय कायम गर्दै रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गर्न संघ सधैं अग्रसर रहने उल्लेख गर्नुभएको छ ।
तालिमका मुख्य प्रशिक्षक इन्जिनियर अखिलेश यादवले उद्योग क्षेत्रमा प्रयोग हुने विद्युत् प्रणाली अत्यन्त संवेदनशील भएकाले त्यसको सही सञ्चालन र मर्मतका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । उहाँले यस तालिममार्फत सहभागीहरूलाई थ्री फेज पावर नेटवर्कको प्राविधिक पक्ष, मोटर तथा इलेक्ट्रिकल उपकरणहरूको सही जडान, सम्भावित विद्युत् समस्या पहिचान तथा समाधानका उपायका साथै सुरक्षा मापदण्डसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको जानकारी दिनुभएको छ ।
प्रशिक्षार्थीको तर्फबाट लिटमस केवल इन्डस्ट्रीज लिमिटेडमा कार्यरत अजय कुमार पासवानले यस्ता तालिमहरूले आफूहरूको कार्यक्षमता वृद्धि गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ । उहाँले तालिममा सिकेका ज्ञान तथा सीपहरू उद्योगमा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै यसले विद्युत् प्रणालीको सुरक्षित सञ्चालन, समस्या पहिचान तथा समाधानमा सहजता ल्याएको जनाउनुभएको छ । साथै, आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिनुभएको छ ।
उक्त तालिममा रूपन्देही र नवलपरासी आसपासका १४ उद्योगबाट २० जनाको सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरूलाई थ्री फेज पावर नेटवर्कको आधारभूत तथा व्यवहारिक ज्ञान, सुरक्षित जडान, सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी सीप प्रदान गरिएको आयोजकले जनाएको छ ।
रूपन्देही उद्योग संघ सीप विकास ईकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालन रहेको कार्यक्रमको संयोजन रूपन्देही उद्योग संघ सीप विकास ईकाइका कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो ।