ए.आई तालिमको शुभारम्भ ।
ए.आई तालिमको शुभारम्भ ।
बुटवल, १३ जेठ २०८३
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा सक्षम नेम एजुकेसन प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा सूचना प्रविधि क्षेत्रमा आबद्ध विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घण्टे) निःशुल्क व्यवसायका लागि ए.आई तालिम बुटवलमा आजबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता रहेको उद्घाटन समारोहमा बोल्नुहुँदै वहाँले वर्तमान समयको व्यवसायिक प्रतिस्पर्धामा एआईको प्रयोग अपरिहार्य बन्दै गएको, यसले उद्योग तथा व्यवसायीलाई प्रविधिमैत्री आधुनिक र प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै प्रशिक्षार्थीहरूले सिकेका सिपलाई व्यवहारमा उतारेर आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । साथै रूपन्देही उद्योग संघले उद्योगी व्यवसायी तथा युवाहरूको क्षमता विकासका लागि आगामी दिनमा पनि यस्ता समय सापेक्ष प्रविधिमैत्री र व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक इ.अमृत रानाभाटले एआई आजको विश्वमा व्यवसाय सञ्चालन, व्यवस्थापन, बजार विस्तार र ग्राहक सेवामा महत्वपूर्ण साधनका रुपमा स्थापित हुँदै गएको बताउनुभयो । वहाँले तालिमका क्रममा सहभागीहरुलाई व्यवसायमा उपयोगी विभिन्न एआई उपकरणको प्रयोग, डिजिटल सामग्री निर्माण, डेटा व्यवस्थापन, व्यवसाय प्रवद्र्धन तथा उत्पादकत्व वृद्धि गर्ने आधुनिक विधिबारे व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुहुदै तालिमबाट सहभागीहरूले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्दै दैनिक कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालन रहेको कार्यक्रमको संयोजन सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीले गर्नुभएको थियो । १९ उद्योगबाट २० जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूलाई आधुनिक प्रविधिसँग अभ्यस्त बनाई व्यवसायको उत्पादकत्व वृद्धि, सेवा प्रवाहमा सुधार, डिजिटल रूपान्तरण तथा प्रतिस्पर्धात्मक क्षमता विकासमा सहयोग पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको बीचको सहकार्यमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा सीपमूलक तालिमहरू आयोजना गर्ने क्रममा बुटवलमा पहिलो पटक ए.आई तालिमको आयोजना गरिएको हो ।