RCI



ग्राफिक डिजाइन तालिमको शुभारम्भ ।

ग्राफिक डिजाइन तालिमको शुभारम्भ ।

ग्राफिक डिजाइन तालिमको शुभारम्भ ।
बुटवल, २७ चैत्र २०८२
रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजना तथा हब आइटी ग्रुप प्रा.लिको समन्वयमा रूपन्देही आसपासका क्षेत्रमा विभिन्न उद्योगमा कार्यरत पेशाकर्मीहरूको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घण्टे) निःशुल्क ग्राफिक डिजाइन तालिम बुटवलमा आजबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता रहेको उद्घाटन समारोहमा  बोल्नुहुँदै वहाँले ग्राफिक डिजाइन तालिम आजको डिजिटल युगको अत्यन्त आवश्यक तथा सम्भावनायुक्त सीप भएको, जसले सिर्जनशीलता र प्रविधिलाई एकसाथ जोड्दै युवाहरूलाई आधुनिक रोजगार तथा स्वरोजगारका अवसरतर्फ अग्रसर गराउँने बताउनुभयो । यस्तो तालिमले सहभागीहरूमा रचनात्मक सोच, प्राविधिक दक्षता र व्यावसायिक आत्मविश्वास अभिवृद्धि गर्दै प्रतिस्पर्धी डिजिटल बजारमा स्थापित हुन सक्ने बताउनुहुदै, तालिम केवल ज्ञान हस्तान्तरणका कार्यक्रम मात्र नभई सहभागीहरूको भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिई युवाशक्तिलाई आत्मनिर्भर, सक्षम र नवप्रवर्तनमुखी बनाउँदै समग्र समाजको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
इन्स्योर÷हेल्भटास नेपालका प्राविधिक अफिसर विनय गौतमले शुभकामना मन्तव्य दिनुहुँदै तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै सीप विकासमार्फत आत्मनिर्भरता बढाउन संस्थाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले यस प्रकारको तालिमले उद्योगमा कार्यरत जनशक्तिलाई आधुनिक बजार प्रणालीसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम संयोजक खेमानन्द रिजालले प्रशिक्षार्थीहरूलाई स्वागत गर्नुहुँदै आजको तीव्र रूपमा परिवर्तनशील डिजिटल परिवेशमा ग्राफिक डिजाइन केवल कला नभई प्रभावकारी सञ्चार, पहिचान निर्माण र व्यवसाय प्रवद्र्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित भइसकेको बताउनुभयो ।
तालिमका प्रशिक्षक हरिप्रसाद बन्जाडेले तालिमको संरचना, उद्देश्य र सिकाइ विधिबारे जानकारी गराउँदै सामाजिक सञ्जाल मार्केटिङ, कन्टेन्ट निर्माण, डिजिटल विज्ञापन, ब्रान्डिङ, ग्राहक पहुँच विस्तार तथा अनलाइन व्यापार रणनीतिबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो ।
रूपन्देही उद्योग संघ सीप विकास इकाईका कार्यक्रम अधिकृत प्रदिप पन्थीको सञ्चालन रहेको  कार्यक्रममा २० उद्योगबाट २० जनाको सहभागिता रहेको छ । स्थानीय उद्योग तथा पेशाकर्मीलाई आवश्यक सीप र ज्ञान प्रदान गरी विदेशी प्रविधि तथा जनशक्तिमा निर्भरता घटाई सम्मानित रोजगारी र आत्मनिर्भरता प्रवद्र्धन गर्नु तालिमको मुख्य उद्देश्य रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।